काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो गरेका छन् ।
सरकारले मिटर जडित ट्याक्सीको भाडा दर प्रतिकिलोमिटर ३९ रुपैयाँ तोके पनि अधिकांश ट्याक्सी चालकले मिटरमा जान अटेर गर्दै आएका छन् । ऐन्, कानूनमा भएको व्यवस्था सरकारले मापदण्ड बनाएर भाडा निर्धारण गरे पनि ठगिने क्रम नरोकिएको उनीहरूको गुनासो छ ।
काठमाडौं उपत्यका सहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र ट्याक्सी चालकले भाडाको विषयमा अनावश्यक मोलमोलाइ गर्ने गरेका छन् । जहाजबाट आफन्त भेट्न काठमाडौँ आउनुभएका चितवनका ललिता राईले ट्याक्सी चालकले दोब्बर भाडा असुल्न खोजेको बताउनुभयो ।
ट्याक्सीमा हुने ठगी रोक्न सरकारले उठेको भाडा प्रिन्ट गर्ने मेसिन ५ वर्षअघिदेखि जोड्न सुरु गरेको थियो । तर यो मेसिन जोड्न ट्याक्सी चालक सबै तयार भइसकेका छैनन् । विमानस्थलमा भेटिनु भएका एक जना ट्याक्सी चालक ठाकुर विश्वकर्माले भाडादर ट्याक्सी चालक अनुसार फरक फरक पर्ने बताउनुभयो ।
सरकारले तोकेको ट्याक्सीको भाडा दर कार्यान्वयनमा नआउँदा पनि बढी भाडा लिने चालक कारबाहीमा परेका खबर नगन्ने सङ्ख्यामा आउँछन् । बढी भाडा लिने ट्याक्सीलाई कारबाही गर्न प्रदेश सरकारकाले विभिन्न नियम व्यवस्था लागु गरेकोे यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमीरेले बताउनुभयो ।
यात्रुको उजुरी आए कारवाहि गर्ने घिमीरेको भनाइ थियो । यातायात व्यवस्था विभागका अनुसार काठमाडौँमा मात्रै चल्ने ट्याक्सीको सङ्ख्या १३ हजार छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने, भीडभाडमा यात्रुमाथि दुव्र्यवहार लगायतका गुनासो ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गर्न सकिन्छ । ५ पटकभन्दा बढी उजुरी परेमा ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था कानुनमा छ । तर यात्रुले उजुरी नगर्दा गलत गर्ने ट्याक्सी चालकले उन्मुक्ति पाइरहेका छन् ।