काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा सहमति जुटाउनको लागि सत्ता गठबन्धनका नेताहरूको सक्रियता बढेको छ ।
एमसीसीको बारेमा सहमति नभएपछि गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि केही दिन यतादेखि गठबन्धनका शिर्ष नेताहरू भेटघाट र परामर्समा व्यवस्त भएका छन् । काँग्रेस एमसीसी पारित गरेर लागू गराउने पक्षमा रहेको भएपनि माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा यसको विपक्षमा रहेको छ । एकिकृत समाजवादीले यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन, तर यसमा थप अध्ययन गर्नुपर्ने बताएको छ ।
एमसीसी तथा स्थानीय तह निर्वाचनका बारेमा औपचारिक धारणा बनाउन भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवदाीका अध्यक्ष माधब नेपालबीचमा बिहान छलफल भएको थियो । यसबारेमा अझै छलफल आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचमा फेरि छलफल हुने भएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डलाइ एकल रुपमा पनि भेटेर एमसीसी पारित गराउन सघाउन आग्रह गरिसक्नुभएको थियो । प्रधानमन्त्री देउवाले गठबन्धन नतोड्ने भए एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरू दिन आग्रह गर्नुभएको छ र आफूले सकेको खण्डमा त्यसमा संसोधन गर्ने पनि बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ । एमसीसी र नेपालबीच विसं २०७४ सालको भदौ २९ गते अमेरिकाको वाशिङ्टनमा अनुदान संझौता भएको थियो । नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री एवं हालका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच सम्झौता भएको थियो ।
संझौताका बखत हालका प्रधानमन्त्री देउवानै प्रधानमन्त्री रहनुभएको थियो । एमसीसी मार्फत नेपाललाई करिब ५६ अर्ब रुपैयाँ प्राप्त हुन्छ, यसलाइ बिकास निर्माणमा खर्च गराउन सकिने भन्दै काँग्रेसले पारित गर्नुपर्ने बताउदै आएको छ ।