काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल राष्ट्र बैँकले साउन पहिलो हप्ता आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैँकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरूलाई आधार मानेर मौद्रिक नीति तयार गरिरहेको छ ।
त्यसको लागि राष्ट्र बैँकले विभिन्न निकायसँग सुझाव मागिरहेको छ । नेपाल राष्ट्र बैँक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम केन्द्रीय बैँकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । आउँदो आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य बजेटमा मार्फत सार्वजनिक गरिएको छ । यो लक्ष्य प्राप्तिमा सहयोग हुने र मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्न राष्ट्र बैँकलाई चुनौती देखिएको अर्थविज्ञ विश्वम्बर प्याकुुरेलले बताए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरू खस्किएको छ ।
निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाह सन्तोषजनक नहुनु लगायत कारण अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने चुनौती समेत राष्ट्र बैँकलाई रहेको पूूर्व गर्भनर डा. चिरन्जीवी नेपालले बताउनुभयो । यो आर्थिक वर्ष सुरु भएको दुई, तीन महिनादेखि नै बैँक वित्तमा देखिएको तरलता अभाव अझै समाधान हुन सकेको छैन ।
गत वर्षको मौद्रिक नीतिले कोरोना महामारीलाइ मध्यनजर गर्दै सहुलियत कर्जा, व्यवसाय निरन्तरता कर्जा, कर्जाको पुर्नसंरचनाजस्ता कुरामा जोड दिएको थियो । नयाँ मौद्रिक नीतिले तरलता व्यवस्थापनलाई मुख्य केन्द्रमा राख्नुपर्नेमा पूूर्व गर्भनर नेपालको जोड छ । गत जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैँकले मौद्रिक नीति सम्बन्धी सुझावहरू लिइरहेको छ ।
आएका सुझावहरूलाई समेत समेटेर नीति बनाउने तयारी भइहरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । कोभिडका कारण गत दुई आर्थिक वर्षमा राष्ट्र बँैकले खुकुलो मौद्रिक नीति जारी गरेको थियो ।