काठमाडौं । सरकारी वकिललाई आज प्रतिवेदन बुझाइँदै, संगठित अपराध र ठगी कसुरसँगै राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने तयारी
उच्चपदस्थ संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ । पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने प्रहरी राय छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर ९किर्ते० मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल संलग्न अभियुक्तविरुद्ध आकर्षित हुनेजति सबै मुद्दा चल्ने बताउँछन् । उनले भने, ‘अनुसन्धान प्रतिवेदन भोलि सरकारी वकिल कार्यालयमा पेस हुनेछ । पक्राउ अभियुक्तविरुद्ध कानुन आकर्षित हुनेजति सबै मुद्दा चलाइनेछ । यसको विस्तृत विवरण भोलि नै थाहा होला ।’
पक्राउ अभियुक्तविरुद्ध मुद्दा चलाउने सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकारीबीच शनिबार पटक–पटक बैठक भएको थियो । बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका उच्च अधिकारी पनि सहभागी थिए । अपराधको प्रकृति हेर्दा राज्यविरुद्धको कसुर पनि आकर्षित हुने देखिएकाले अभियुक्तविरुद्ध उक्त मुद्दा पनि चलाउनुपर्ने पक्षमा सबै उच्च अधिकृत सहमत भएका थिए ।
बैठकमा सहभागी उच्च अधिकृतले भने, ‘अभियुक्तविरुद्ध कस्तो मुद्दा चलाउने विषयमा दिनभर बैठक भयो । अहिले उनीहरूविरुद्ध संगठित अपराध र ठगी कसुरअन्तर्गत कारबाही अघि बढेको छ । त्यसबाहेक राज्यविरुद्धको अपराधअन्तर्गत पनि मुद्दा चलाउने हो कि भन्नेमा सबै सहमत छन् । यद्यपि, अन्तिम डिसिजन भोलि मात्रै हुनेछ । यही सन्दर्भमा भोलि बिहानै बैठक बस्नेछ ।’
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेको ५७ दिन भएको छ । यसबीचमा १६ व्यक्ति पक्राउ परेका छन् भने १४ फरार छन् । बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने हदम्याद छ । गत १२ चैतदेखि प्रहरीले यस प्रकरणमा अनुसन्धान थालेको थियो ।
यसक्रममा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । प्रतीक थापा, नीरज राईलगायत १४ अभियुक्त भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन लागिएको छ ।
केही प्रमाण भेटिएका तथा संलग्नता पुष्टि हुन नसकेकाको हकमा भने पछि अनुसन्धानमा थप प्रमाण भेटिए पूरक अभियोग लैजाने गरी पहिलो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको हो ।
चार वर्षअघि सामूहिक बलात्कारमा जेल परेका थिए मुख्य बिचौलिया सन्देश
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया दाङका सन्देश शर्मा पोखरेल यसअघि सामूहिक बलात्कार अभियोगमा समेत पक्राउ परेको खुलेको छ । उनी पुर्पक्षका लागि जेलसमेत गएका थिए । पीडित युवतीलाई ६० लाख रुपैयाँ दिएर ‘होस्टाइल’ गराएपछि उनी जेलमुक्त भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सामूहिक बलात्कार अभियोगमा सन्देश ३ कात्तिक ०७६ मा पक्राउ परेका थिए । एमालेनिकट युवा संघको केन्द्रीय सदस्यसमेत रहेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै प्रहरीले नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेललाई पनि पक्राउ गरेको थियो ।
उनीहरूले युवतीलाई ललितपुरको कुमारीपाटीस्थित सन्देशकै कोठामा २९ असोज ०७६ मा सामूहिक बलात्कार गरेका थिए । त्यसलगत्तै युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । पछि जिल्ला अदालत ललितपुरले घटनामा संलग्न दुवै अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । उक्त मुद्दा अदालतमा अझै विचाराधीन छ ।
अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी डा। मनोज केसीले सन्देश चार वर्षअघि सामूहिक बलात्कार अभियोगमा पक्राउ परेको स्वीकार गरे । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये सन्देश शर्मा चार वर्षअघि सामूहिक बलात्कार अभियोगमा पक्राउ परेको देखिन्छ । उनी पुर्पक्षका लागि जेल पनि बसेका छन् । पछि उनी जेलबाट छुटेका रहेका छन् । यस विषयमा प्रहरी जानकार छ ।’
प्रहरीका अनुसार उनीहरूले पीडित युवतीलाई मुद्दामा बयान फेर्न अनेक धम्की दिएका थिए । युवती नमानेपछि रकम दिने प्रलोभन दिएका थिए । यस क्रममा सन्देशले युवतीलाई ६० लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । एड्भान्सस्वरूप ५० हजार रुपैयाँ युवतीको खातामा हालिदिएपछि युवती बयान फेर्न राजी भएकी थिइन् । अदालतमा युवतीले बयान फेरेपछि उनीहरू जेलमुक्त भएका थिए । सामूहिक बलात्कारमा पुर्पक्षका लागि जेल परेका सन्देश र ज्ञानेन्द्र अदालतमा युवतीले बयान फेरेपछि जेलमुक्त भएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
आश्वासनको ६० लाखमा पनि धोखाधडी
सन्देशका साथी ज्ञानेन्द्रसँग बलात्कृत युवतीको सम्बन्ध राम्रो थियो । यही क्रममा ज्ञानेन्द्रले युवतीलाई झुक्याएर ललितपुरको कुमारीपाटीस्थित सन्देशको कोठामा लगे । उक्त समय सन्देश कोठामा थिएनन् । कोही नभएको बहाना गर्दै ज्ञानेन्द्रले युवतीलाई कोठामै रात बिताउन दबाब दिए । युवती राजी भइन् । दुईबीच शारीरिक सम्पर्क पनि भयो । यसको जानकारी सन्देशलाई गराए । सन्देश कोठामा आए । युवतीसँग उनले शारीरिक सम्पर्क गर्न खोजे, तर मानिनन् । पछि ज्ञानेन्द्रले पनि सन्देशसँग शारीरिक सम्पर्क गर्न युवतीलाई दबाब दिए । नमानेपछि सन्देशले युवतीलाई बलात्कार गरे ।
अपराध अनुसन्धान कार्यालयमा कार्यरत असइ उमेश केसी युवतीको चिनजान थियो । उनले सबै पीडा असइ केसीलाई बताइन् । घटनामा संलग्नविरुद्ध प्रहरीमा जाहेरी दिन केसीले युवतीलाई प्रोत्साहन गरे । नभन्दै युवतीले सन्देश र ज्ञानेन्द्रविरुद्ध प्रहरीमा जाहेरी दिए । प्रहरीले दुवैलाई पक्राउ मात्रै गरेन, अदालतको आदेशले उनीहरू पुर्पक्षका लागि जेल पनि गए ।
युवतीको पछि असइ केसी रहेको जानकारी सन्देश र ज्ञानेन्द्रलाई थियो । त्यसैले उनीहरू यसको कुनै हालतमा बदला लिन चाहन्थे । जेलमा रहेका उनीहरूले युवतीलाई ६० लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । उनीहरूले यसैलाई हतियार बनाएर एक तीरबाट दुई सिकार गर्ने योजनामा पुगे । योजनाअनुसार उनीहरूले आफन्तमार्फत युवतीलाई ६० लाख रुपैयाँ दिन बोलाए । सँगै असइ केसीलाई पनि आउन भने । त्यसअघि नै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीलाई घटनास्थल बोलाइसकेका थिए । युवतीसँगै केसी पनि बेलाएको ठाउँमा पुगे । युवतीले जब रकम बुझिन्, अख्तियारको टोलीले उनलाई पक्राउ ग¥यो । सँगै असइ केसी पनि पक्राउ परे । अन्ततः सोही कारण असइ केसी जागिरबाट निलम्बनमा परे ।
नक्कली भुटानी शरणार्थीबाट संकलित रकम नयाँ बानेश्वरस्थित पार्किङमा हुन्थ्यो भागबन्डा
पुनर्वासमा छुटेका भुटानी शरणार्थी व्यवस्थापनका लागि सरकारले ३० जेठ ०७६ मा बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन ग¥यो । नक्कली भुटानी शरणार्थी बनाउने खेल त्यहीँबाट सुरु भयो । खेलमा सामेल थिए, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई । उनैमार्फत धन्दामा छोरा नीरज, बादलपुत्र प्रतीक र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप जोडिए ।
भूगोलका कारण अर्घाखाँचीका सन्दीप र दाङका सन्देशबीच पहिलेबाटै सम्बन्ध राम्रो थियो । धन्दाका सम्बन्धमा सन्दीपले सन्देशलाई जानकारी गराए । र, सँगै धन्दामा सघाउन भने । उनी राजी भए । त्यसपछि उनी प्रतीक र नीरजसँग जोडिए । उनीहरूसँगको सम्बन्ध पनि राम्रो भयो ।
अब नक्कली शरणार्थी खोज्ने कार्य सुरु भयो । नक्कली शरणार्थी बन्न विभिन्न ठाउँबाट नेपाली आउन थाले । उनीहरूलाई ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा कार्यालय नै खोलेर जम्मा गर्न थालियो । सोही कार्यालयमा नक्कली भुटानी शरणर्थीको फाराम भर्ने, बायोमेट्रिक तथा फिंगरप्रिन्ट लिने कार्य सुरु भयो । सँगै रकम पनि असुल्न सुरु भयो ।
त्यही वेला सन्देश नयाँ बानेश्वरको थकाली भन्साघरनजिकै खाली रहेको जग्गामा कार्यविनायक नामको सशुल्क पार्किङ चलाउँथे । पार्किङसँगै कार्यालय व्यवस्थापनका लागि सन्देशले घर पनि भाडामा लिएका थिए । असुल गरिएको रकम गाडीमा हालेर सन्देशले सोही घरमा ल्याउँथे । रकम ओसार्न भने अधिकांश समय नेपाल हज कमिटीको नाममा रहेको बिएबी १४०५ नम्बरको निसान पेट्रोल जिप प्रयोग हुन्थ्यो ।
रकम जम्मा भएपछि प्रतीक, सन्दीप, नीरजसहितका अन्य बिचौलिया सोही घरमा आउँथे । रकम भागबन्डा लगाउँथे । अनि लिएर जान्थे । भागबन्डा हुँदाबखत रातको अबेरसम्म घरमा पार्टी चल्थ्यो । लोकल कुखुरा र खसीको मासु तथा विदेशी ब्रान्डका रक्सी पार्टीमा खपत हुने गथ्र्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीले नक्कली भुटानी शरणार्थीबाट संकलन गरिएका रकमको ‘नेक्सस’ सन्देशले सञ्चालन गरेको पार्किङसँग देखिने बताए । ‘सन्देशले नयाँ बानेश्वरमा सशुल्क पार्किङ चलाउँथे । उक्त पर्किङमा रहेको घर नक्कली भुटानी शरणार्थीबाट संकलन गरिएका रकम बाँडफाँटमा प्रयोग भएको बारे प्रहरी जानकार छ । अनुसन्धानमा यी विषय समेटिएका छन्,’ उनले भने ।
एक दर्जनभन्दा धेरै फरार
प्रहरीले थप १६ जनालाई फरार अभियुक्तको रूपमा मुद्दा चलाउने तयारी गरेको छ । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राईसमेत छन् । त्यस्तै, पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरुद्ध पनि चल्ने सम्भावना छ । यद्यपि, उनीहरू सबैविरुद्ध अहिले नै मुद्दा चल्ने–नचल्ने टुंगो नभएको प्रहरी अधिकारी बताउँछन् ।
अभियुक्तहरूले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा। अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायतको नाम पनि लिएकोमा उनीहरूको संलग्नता प्रहरीले पुष्टि गर्न सकेन । प्रमाण नखुलेका व्यक्तिउपर दोस्रो चरणमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की करिब दुई दर्जनविरुद्ध मुद्दा चलाउनुपर्ने देखिएको बताउँछन् । तर, संख्या यकिन भने भइनसकेको उनको भनाइ छ । नयाँपत्रिका