काठमाडौं । विद्युत महसुल भुक्तानीमा अनलाइनको प्रयोग बढेको छ। नेपाल विद्युत प्राधिकरणले ६ वर्षअघि अनलाइन भुक्तानी सेवा सुरु गरेकामा अहिले ३० प्रतिशत ग्राहकले यसको प्रयोग गरिरहेका छन्।
अनलाइन बिलिङ प्रणालीबाट अहिले दैनिक १० करोड रुपैयाँ महसुल संकलन हुने गरेको छ। अधिकांश साना ग्राहकले अनलाइनबाटै बिल भुक्तानी गर्न थालेको प्राधिकरणका बिलिङ तथा नेटवर्क शाखा प्रमुख रवीन्द्र श्रेष्ठले बताए। उनका अनुसार कुल ग्राहकमध्ये करिब ३० प्रतिशतले अनलाइनबाटै बिल तिर्ने गरेका छन्।
‘महसुल अनलाइनबाट तिर्नेहरु तुलनात्मक रुपमा सहरी क्षेत्रमा बढी छन्। तर ग्रामीण क्षेत्रमा पनि अहिले अनलाइनबाटै महसुल तिर्नेहरु बढेका छन्,’ उनले भने,’ अहिले सार्वजनिक बिदा र शनिबारबाहेक दैनिक १० करोड रुपैयाँ उठिरहेको छ।’
प्रत्येक महिना बिजुलीको बिल प्राप्त भएपछि अनलाइनबाट तिर्न सकिन्छ। स्मार्ट मिटरहरुमा भने प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गरिरहनु पर्दैन। मिटरमा नै हेरेर महसुल तिर्न सकिन्छ। यस्ता करिब १ लाख मिटर प्राधिकरणले उपत्यकाभित्र जडान गरेको छ।
विद्युत महसुल डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल एपबाट तिर्न सकिन्छ। ई सेवा, प्रभु बैंक, खल्ती, आईएमई पे, फोन पे, थैली जस्ता ११ वटा सेवा प्रदायकमार्फत विद्युत महसुल संकलन हुँदै आएको छ।
अनलाइनबाटै विद्युत महसुल तिर्न सकिने भएकाले प्राधिकरण र मातहतका कार्यालयका काउण्टरमा भिड लगभग देखिन छोडेको छ।
‘हामीले पहिले सहरी क्षेत्रका काउण्टरमा ८र१० जना कर्मचारी राख्ने गरेका थियौं। तैपनि भिड हुन्थ्यो। अहिले ३र४ जना नै पर्याप्त देखिएका छन्,’ उनले भने,’ काउण्टरमा अहिले बिल तिर्न खासै लाइन बस्नु पर्दैन।’
५ लाख रुपैयाँभन्दा बढीको बिल भने अनलाइनबाट तिर्न मिल्दैन। ग्राहकले प्राधिकरणको काउण्टरमै पुग्नुपर्छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डिजिटल प्राधिकरण’ बनाउने योजना बनाएको भने पनि ५ लाख रुपैयाँभन्दा बढी महसुल अनलाइनबाट तिर्ने व्यवस्था मिलाउन सकेका छैनन्।
प्राधिकरणले संकलन गर्ने महसुलको ७० प्रतिशत रकम ५ लाख रुपैयाँभन्दा बढी तिर्ने ग्राहकबाट उठ्छ। बिलिङ तथा नेटवर्क शाखा प्रमुख श्रेष्ठले ५ लाख रुपैयाँभन्दा बढी महसुल अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने प्रक्रिया अगाडि बढाइसकेको बताए। उनका अनुसार यस सम्बन्धी फाइल अहिले अर्थ निर्देशनालयमा छ।