काठमाडौं । प्रदेशको सत्ता समिकरणका लागि आज भएको नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज गरेबको सहमतीले तिन प्रदेशमा मात्रै सहज बहशुमत पुग्ने देखिएको छ ।
कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।
सहमति अनुसार मधेस र गण्डकी प्रदेशमा भने अरू दलसँग सहकार्य गर्ने सहमतिमा उल्लेख । प्रदेश सभाको सांसदको संख्याको आधारमा एमाले र नेकपाको गठबन्धन बन्दा कोशी, कर्णाली र सुदूरपश्चिममा मात्रै सहजै सरकार बनाउने अवस्था छ । अरू चार प्रदेशमा भने साना दलको वैशाखी अनिवार्य देखिएको हो ।
कोशी प्रदेशमा कुल ९३ सदस्यीय प्रदेशसभा भए पनि हाल कायम सांसद संख्या ९२ रहेको छ । जसमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । जसका लागि एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।
कुल १०३ सदस्यीय प्रदेशसभा भएको मधेस प्रदेशमा बहुमतका लागि ५२ सिट आवश्यक पर्छ । जहाँ एमालेको २४ र नेकपाको १५ सिट गरी ३९ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १५ सिट आवश्यक पर्छ । यसका लागि जसपाको २८ वा जनमत १२ सांसदको समर्थन बिना सरकार बन्न सक्दैन।
बागमती प्रदेशमा कूल १०४ सदस्यीय प्रदेशसभाको लागि बहुमत जुटाउन ५३ सांसद अनिवार्य हुन्छ । जुन प्रदेशमा एमालेको २६ र नेकपाको २६ गरी ५२ सिट रहेको छ । यो प्रदेशमा दुवै दलका लागि बहुमत पुर्याउन मात्र १ सिट अपुग हुन्छ । राप्रपा (१२), हाम्रो नेपाली पार्टी (२) वा नेमकिपा (३) को समर्थनमा मात्रै यहाँ सरकार गठन हुन सक्छ ।
त्यस्तै गण्डकी प्रदेशमा कुल ५९ सदस्यका लागि बहुमत पुर्याउन ३० सांसद चाहिन्छ । यो प्रदेशमा एमालेको २२ र नेकपाको ७ गरी २९ सिट रहेको छ । यो प्रदेशमा पनि बहुमतका लागि १ सिट अपुग हुन्छ । यहाँ २ सिट भएको राप्रपा किङमेकर बन्ने देखिन्छ । यस्तै यो प्रदेशमा नेपाल समाजवादी पार्टीको १ जना सांसद रहेका छन्।
उता लुम्बिनी प्रदेशको कुल ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । यो प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ गरी ४२ सांसद पुग्छन् । यहाँ दुई पार्टीको ठिक्क बहुमत पुग्ने देखिए पनि सभामुखले मतदान गर्न पाउँदैनन् । जसका कारण यो प्रदेशमा जसपा नेपालको ३, जनमतको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ३ सिट भएको कुनै पनि दलले यो गठबन्धनलाई सहयोग नगरे सरकार बन्दैन ।
उता, ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमत पुर्याउन २१ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १० र नेकपाका १४ सांसद गरी २४ सांसद छन् । यहाँ स्पष्ट बहुमत पुग्ने भएकाले वामपन्थी सरकार सहजै बन्छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको कूल ५२ सदस्यीय प्रदेशसभाको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमालेको ११ र नेकपाको २२ गरी ३३ सांसद छन् । यो प्रदेशमा एमाले र नेकपाको सहजै बहुमत पुग्ने देखिएको छ ।
यस्तै तथ्याङ्क केलाउँदा एमाले र नेकपा मिल्दा मधेस प्रदेशमा जसपाको समर्थन बिना कुनै पनि समीकरणले सरकार बनाउन सक्ने अवस्था छैन । लुम्बिनी प्रदेशमा दुवै समीकरणका लागि साना दलहरूको साथ अनिवार्य छ । गण्डकी र बागमती प्रदेशमा वामपन्थी समीकरण बनेको खण्डमा साना दलहरूको भूमिका सरकार बनाउन र टिकाउन महत्त्वपूर्ण हुने देखिन्छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १९:५८