कठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको दोस्रो बैठक बोलाएको छ । सभापति रवि लामिछानेले बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
महामन्त्री विपिन आचार्यका अनुसार बैठकले प्रथम राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा गर्नेछ । यसैगरी, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन गर्नेछ । बैठकले सांगठनिक व्यवस्थापन तथा मनोनयन पनि गर्नेछ । यसका अलावा आगामी अभियान तथा कार्यक्रम सञ्चालनबारे पनि बैठकमा छलफल हुने आचार्यले बताए ।
बैठकमा सभापति लामिछानेले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनीतका लागि प्रस्ताव गर्नेछन् । महामन्त्री आचार्यले मनोनीत गर्ने बैठकको एजेन्डा रहेकाले पदाधिकारी र सदस्य मनोनीत हुन सक्ने बताए । तर, कुन–कुन पदमा मनोनीत हुन्छ भन्ने थाहा नभएको उनको भनाइ छ ।
असारमा चितवनमा सम्पन्न रास्वपा प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिमा लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह, निशा डाँगी निर्वाचित भएका छन् । अब सभापति लामिछानेले वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई कोषाध्यक्ष, प्रवक्ता, तीन सहप्रवक्ता मनोनीत गर्न बाँकी छ ।
महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अब सभापतिले ५१ जना मनोनीत गर्न बाँकी छ । रास्वपाका एक पदाधिकारीले सभापतिले प्रवक्ता र कोषाध्यक्ष तथा केही केन्द्रीय सदस्य मनोनीतका लागि बैठकमा प्रस्ताव गर्ने बताए ।
रोकिएका जिल्ला अधिवेशन सुरु गर्ने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि छनोट विवादले राष्ट्रिय महाधिवेशनअघि सम्पन्न हुन नसकेका जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सिन्धुपाल्चोक र बागलुङमा निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । मधेशका सात जिल्लामा पनि अधिवेशनको तयारी भइरहेको छ ।
पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बागलुङमा १६ साउनमा र सिन्धुपाल्चोकमा २२ साउनमा जिल्ला अधिवेशन हुँदै छ । यी जिल्लामा विवादका कारण चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनअघि अधिवेशन हुन सकेको थिएन । रास्वपाले यी जिल्लामा थाँती राख्दै महाधिवेशन गरेको थियो ।
आयोगले पहिलो महाधिवेशनअघि विवादले स्थगित गरिएको सिन्धुपाल्चोकमा २२ साउनमा सदरमुकाम चौतारामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । ‘जिल्ला अधिवेशन सञ्चालन हुनुअघि लिसंखुपाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । निर्वाचन प्रक्रिया स्थगन गरिएको चरणबाटै पुनः सञ्चालन गरिनेछ । स्थगन हुनुअघि सम्पन्न भएका सम्पूर्ण निर्वाचन प्रक्रिया यथावत् कायम रहनेछन् र बाँकी प्रक्रियाहरू केन्द्रीय निर्वाचन आयोगबाट स्वीकृत संशोधित निर्वाचन कार्यतालिकाअनुसार सिन्धुपाल्चोक जिल्ला अधिवेशन निर्वाचन समितिले सञ्चालन तथा सम्पन्न गर्नेछ,’ आयोगले भनेको छ ।
यसैगरी, आयोगले बागलुङ जिल्ला अधिवेशनको प्रक्रिया पनि अगाडि बढाएको छ । यसअघि सम्पन्न अधिवेशन कार्यविधिअनुसार नभएको ठहर गर्दै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गरेको छ । साथै, बागलुङ जिल्ला अधिवेशन कार्यविधिअनुरूप १६ साउनमा पुनः सम्पन्न गर्ने निर्णय गरेको छ ।
मधेशमा मनसुनपछि अधिवेशन
आयोगले मधेशका जिल्लामा मनसुन सकिएपछि अधिवेशन गर्ने भएको छ । प्रतिनिधि विवादका कारण पर्साबाहेक मधेशका सात जिल्लामा अधिवेशन हुन सकेको छैन । मधेश प्रदेश समितिकै अधिवेशन हुन सकेको छैन ।
मधेशमा प्रतिनिधि विवाद देखिएपछि सभापति रवि लामिछानेले मधेशका सांसदहरूलाई आफ्नो क्षेत्रको समस्या लिखित रूपमा बुझाउन निर्देशन दिएका छन् । अहिले जिल्लामा रहेका सांसदहरूले समस्या लिखित रूपमा बुझाएपछि सभापति लामिछानेले आवश्यक प्रक्रिया अगाडि बढाउनेछन् ।
निर्वाचन आयोग प्रमुख केसीले मधेशको विवादलाई सभापति स्वयंले हेरिरहेको र आन्तरिक कामहरू भइरहेको बताए । ‘मधेशमा मनसुन सिजन सकिएपछि हुन्छ । अहिले बाढी, डुबानलगायतले गाह्रो हुने अवस्था छ । पानी परिरहेकाले कठिनाइ छ । अब मनसुन सकिनेबित्तिकै गर्छौँ । कसरी जाने भनेर छलफलहरू गरिरहेका छौँ,’ उनले भने, ‘पहिला त प्रतिनिधि विवादहरू टुंग्याउनुपर्यो । पालिका तहबाट अधिवेशन सकिएर आउनुपर्यो । कुनै–कुनै पालिका तहमै विवाद छ । त्यो पनि टुंग्याउनुपर्यो । पालिकाबाट जिल्ला आउनुपर्यो । जिल्ला सकिएपछि बल्ल मधेश प्रदेशको पालो आउँछ । तीनै तहमा सक्ने गरी हेरिरहेका छौँ । आन्तरिक गृहकार्य गरिरहेका छौँ ।’
केसीका अनुसार मधेशमा पालिकामा समेत विवाद छ । ‘बाराको पालिका तहमा विवाद छ । महोत्तरी, धनुषामा पनि पालिकामा विवाद छ । अन्य जिल्लामा छैन । पर्साको जिल्ला अधिवेशन पनि सकिसक्यो । अब पालिकाको त सकिहाल्छ । मुख्यतः जिल्लाको बाँकी हो,’ उनले भने । प्रमुख केसीले आयोग अहिले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रियामा जुटेको बताए । ‘स्थानीय तहको चुनावको तयारीमा छौँ । उम्मेदवार छान्न प्रक्रिया कसरी गर्ने, मापन गर्ने कोर्स डिजाइनलगायतमा आयोग लागिरहेको छ,’ उनले भने ।
कैलाली जिल्ला अधिवेशनलाई वैधानिकता
रास्वपा केन्द्रीय निर्वाचन आयोगले २४ जेठमा सम्पन्न कैलाली जिल्ला अधिवेशनलाई वैधानिकता प्रदान गर्ने निर्णय गरेको छ । अधिवेशनविरुद्ध परेका उजुरीउपर आवश्यक छानबिन तथा विस्तृत अध्ययनपछि आयोग यो निर्णयमा पुगेको हो । ‘उक्त अध्ययन तथा प्राप्त तथ्यहरूको विश्लेषण गर्दा, सो अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि’ र जिल्ला निर्वाचन कार्यविधिमा तोकिएका सम्पूर्ण प्रक्रिया तथा सिद्धान्तको पूर्ण रूपमा पालना गरी विधिसम्मत ढंगले सम्पन्न भएको देखिएको छ,’ आयोगको निष्कर्ष छ । यसैकारण २४ जेठमा सम्पन्न कैलाली जिल्ला अधिवेशनलाई विधिवत् रूपमा सदर गर्दै मान्यता प्रदान गर्ने आयोगको निर्णय छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ ११:०८