प्रदीप ज्ञवाली
भविष्यमा पनि हाम्रो पार्टी ठूलो पार्टी बन्छ भन्ने विश्वास नेताहरुमा नभएका कारण नेकपामा यो समस्या आएको हो।
प्रधानमन्त्री तथा हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘अब पार्टी नै अलग गरेर जाऔं’ भन्नुभयो भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही नेताहरुलाई व्रिफिङ्ग दिनुभयो भन्ने कुराले अहिले राजनीति तातेको छ। जसरी नेकपा अहिले नै फुट्न लागेको हो कि भन्ने हिसाबले आशंका गरिएको छ, विषयवस्तु र यथार्थ त्यस्तो होइन।
पार्टी अलग गरेर जाऔं न त भन्ने विषय सन्दर्भवश आउने हो। यो नियतसाथ आएको विषय होइन। कहिलेकाहीँ तर्कको रुपमा, दबाबको रुपमा, कहिले ठट्टा र कहिलेकाहीँ चाहिं दिक्दारीको रुपमा ‘अगाडि बढ्नै नसक्ने हो र सहकार्य गर्न पनि नसक्ने हो भने अलग होऔं’ भनिएको हुनसक्छ। यो कुन मनोविज्ञानमा भनिएको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ।
मैले बुझेअनुसार अस्तिको त्यो भेटमा अध्यक्ष प्रचण्डले पनि ‘भइहाल्यो, अब आ–आफ्नो बाटो हिंडौं भन्ने लाग्न थाल्यो’ भन्नुभएको रहेछ। अनि प्रधानमन्त्रीले पनि त्यसैअनुसार भन्नुभएको बुझिन्छ। दुवै नेताबीच सहमति नजुटिरहेको र विश्वासको संकटले सिर्जना गरेका अभिव्यक्तिहरु हुन् यी। त्यसमा त्यति धेरै गाम्भीर्य छ भन्ने मलाई लाग्दैन।
पार्टी विभाजन हुने कुनै आधार र औचित्य छैन, त्यसले कुनै परिणाम पनि दिंदैन। हो, यो अवस्थाले एकतालाई सुदृढ गर्ने कुरा कठिन भएको छ।
विश्वासका साथ अघि बढ्ने विषयमा चुनौती थपिएको छ। तर, चुनौती छ भने त्यसको समाधान गर्दै अघि बढ्ने हो। प्रचण्ड स्वयम्ले पछाडि फर्कने पुल नै भत्काएर अगाडि आएका छौं भन्नुभएको थियो। अब कुन पुल तरेर पारि, पुरानै ठाउँमा जाने हो ? यसबीचमा दुरी बढाउने खालका प्रवृत्तिहरु देखा परेका छन्, त्यसखाले प्रयास पनि भएका छन्। ती सबैलाई निस्तेज पार्दै एकतालाई बलियो बनाएर जानुको विकल्प छैन।
दूरी बढाउनेमा शीर्ष नेताका वरिपरि रहेका साथीहरु पनि जिम्मेवार छन्। त्यसमा केही स्वार्थ समूह पनि लागेका छन्। सहमति कार्यान्वयन गर्दै नगर्ने, सरकारलाई प्रभावकारी हुनै नदिने प्रवृत्ति पनि देखा परेका छन्।
यो अवस्था आउनुका पछाडि अनेक कारण छन्। सबभन्दा प्रमुख कारण प्रमख नेताहरुबीचमा देखिएको विश्वासको संकट हो। प्रमुख नेताहरु नै आफ्नो परिभाषित जिम्मेवारीमा लागेको देखिएन। स्थायी कमिटीको पछिल्लो बैठकले गरेको निर्णयको निश्कर्ष प्रधानमन्त्रीले सरकार सञ्चालन गर्ने, कार्यकारी अध्यक्षले पार्टी सञ्चालन गर्ने हो। कमिटीबाट त्यसखाले कामको परिभाषा पनि गरिएको थियो। १५ दिनभित्र पार्टी एकताका कामहरु सम्पन्न गरेर महाधिवेशनतिर जाने र महाधिवेशन तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने भनिएको थियो। यसबीचमा पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्ने विषयहरुबारे सामान्य चर्चा पनि भएको छैन। सरकार पुनर्गठनमा कसलाई मन्त्री राख्ने र कसलाई हटाउने भन्नेबारेमा त कुरा मिलेन रे। सरकारको फाँटमा पार्टी निर्णय कार्यान्वयन भएन भन्न पनि मिल्थ्यो होला। तर, पार्टीमा अरु काम गर्न त केहीले रोकेको छैन। पार्टी कामहरु अगाडि बढेका छैनन्, तर घुमिफिरी कुरा सरकारमा आएर अल्झिन्छ।
अर्को कुरा, नेतृत्व पंक्तिमा रहेका हाम्रा अधिकांश कमरेडहरुमा आन्दोलनप्रतिको विश्वास टुटेको छ। अब दुई वर्षपछि निर्वाचन हुन्छ, त्यसपछि नेकपा शक्तिशाली पार्टी बन्छ, त्यसको नेतृत्व हामी गर्छौं भन्ने विश्वास नै छैन। प्रधानमन्त्रीले त आफू महाधिवेशनपछि अध्यक्ष नबन्ने र आउँदो निर्वाचनपछि फेरि प्रधानमन्त्री पनि नबन्ने बताइसक्नुभएको छ। आफ्नो तर्फबाट सबै कुरा क्लियर गरिसक्नुभएको छ। अब डेढ वर्षपछि स्थानीय निर्वाचन हुँदैछ। दुई वर्षपछि आम निर्वाचन हुनेछ। कमरेडहरु त्यहाँसम्म पनि पर्खन किन सक्दैनन् ? पाँच महीनापछि महाधिवेशन गर्ने भनिएको छ, त्यहाँसम्म पर्खने धैर्य पनि किन नभएको रु हामीलाई सबथोक आजै चाहिएको छ, किनभने हामी भविष्यमा पनि यही स्थितिमा रहन्छौं भन्ने विश्वास नै छैन।
यो आन्दोलनको विश्वास टुट्नुको परिणाम हो। त्यसकारण सबैलाई अहिले भएका उपलब्धिहरु बाँडीचुँडी गरेर लिइहाल्नुपरेको छ। अहिले यही मनोविज्ञानले यो सब गरिरहेको हो।
हामी अगाडि बढ्ने बाटो भनेको फेरि पनि एकता हो, भएका सहमतिको कार्यान्वयन हो। फेरि पनि हुनुपर्ने भनेको नेतृत्वको बीचमा समझदारी नै हो। त्यसका लागि फेरि पनि नेतृत्वले अन्तरआत्माको कुरा सुन्नुपर्यो। हिजो आफूले गरेका वाचाहरु सम्झनुपर्यो। विश्व राजनीतिमा आएका नयाँ प्रवृत्तिहरु जो हामीलाई अगाडि बढ्न प्रतिकूल छन्, त्यसका पदचापहरुलाई सुन्नुपर्यो। जोखिमहरुले हाम्रो ढोकै अगाडि ढकढक गर्न थालेका छन्, तिनलाई सुन्नुपर्यो। मुख्य मुद्दामा ध्यान केन्द्रित गर्नुपर्यो। त्यसकारण अहिले एकता बाहेक अर्को विकल्प म देख्दिनँ।
(नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री ज्ञवालीसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित)
साभार हिमालखबर