नुवाकोट । आगामी मङ्सिर ४ गते तय भएकोे प्रदेश, प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ ।
दुई प्रतिनिधि सभा चार प्रदेश सभा क्षेत्र रहेको नुवाकोटका एक सय ३२ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशीलमा परेका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो ।
नुवाकोटमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएका छन् । नुवाकोटमा ५७ मतदानस्थललाई संवेदनशील र २३ मतदानस्थललाई सामान्यमा राखिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । रिसालका अनुसार अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । नुवाकोटमा कुल एक सय ३२ मतदानस्थल छन् । जसमा दुई सय ८८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार नुवाकोटभर कुल दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् । मतदातामध्ये महिला एक लाख १५ हजार सात सय २२ जना रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार नौ सय ७४ जना मतदाता रहेका छन् । यो गत वैशाख ३० गतेको निर्वाचनमा मतदाताभन्दा दुई हजार दुई सय ५० जना बढी मतदाता सङ्ख्या हो ।